नेपाली कांग्रेसले एक महिने अभियान सकेपछि मात्रै चार दलीय गठबन्धनबारे निर्णय लिने

काठमाडौँ, २५ फागुन – प्रमुख सत्तारुढ नेपाली कांग्रेसले यही फागुन २९ गतेदेखि थालिने एक महिने अभियान सकेपछि मात्रै चार दलीय गठबन्धनबारे निर्णय लिने भएको छ।

अभियान सुरु गर्नेबारेमा बुधबार पार्टी कार्यालय सानेपमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले यसबारे जानकारी दिएका हुन्।

‘कांग्रेसले गठबन्धनबारे अहिले केही बोल्दैन। तर हामी जे गर्दा बढी भन्दा बढी सिट जितिन्छ त्यही अनुसार रणनीति बनाउँछौँ’, खड्काले भने, ‘सबै मिलेर जाँदा धेरै जितिन्छ भन्ने लागेमा त्यही अनुसार जान्छौँ।’

खड्काले एक महिने अभियान पूरा नभएसम्म कांग्रेसले गठबन्धन गर्ने नगर्ने दुवै कुरा नबोल्ने पनि बताएका छन्। ‘गठबन्धन हुनुपर्छ हुनुपर्दैन भन्ने हामी विवाद गर्दैनौँ। हामी निर्वाचनसम्म गठबन्धनसहित जान्छौँ भन्नेमा विवाद छैन’, उनले भने, ‘तर अहिले कांग्रेस एक महिनासम्म एक्लै जनताको घरमा जान्छ।’

त्यस्तै प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहायता परियोजना एमसीसीबारे कम्युनिष्टहरुले व्यापक रुपमा भ्रम फैल्याएकाले त्यसलाई यो एक महिने अभियानले चिर्ने पनि बताए।

‘एमसीसीबारे अनेकन दुष्प्रचार गरियो, भ्रमको खेती गरेर जनमत बनाइयो। त्यसलाई हामी चिर्छौँ’, उनले भने, ‘एमसीसीबारे बाँकी बचेको भ्रम चिर्छौँ। अन्तर्राष्ट्रिय विकास परियोजना हो यो। धेरै उदार प्रकृतिको परियोजना हो। एमसीसी अन्तर्गतको अनुदान हाम्रै प्राथमिकता अनुसारको हो।’

महतले कांग्रेस यो पटक एकतावद्ध भएर निर्वाचनमा जान हरेक कार्यकर्तालाई जिम्मेवारी दिने योजनामा रहेको पनि सुनाए। उनले कम्युनिष्टले सामाजिक सञ्जालमा धेरै हल्ला गरेको भन्दै अब कांग्रेसले पनि प्रचार अभियानलाई पनि तीव्र बनाउने बताए।

‘एक महिने अभियानपछि मात्रै कांग्रेसले गठबन्धनबारे निर्णय लिने छौँ। त्यसपछि मात्रै यसबारेमा कांग्रेस केन्द्रीय सम्पादन समितिले निर्णय लिन्छ’, उनले भने, ‘पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले चुनावी गठबन्धन या एक्लै अघि बढ्नेबारेमा ठोस निर्णय लिनेछ। अहिले हामी यसबारे केही बोल्दैनौँ।’

Facebook Comments Box