युथ क्याम्पसको बीसीए कार्यक्रमबारे छानबीन समिति गठन
काठमाडौं, १३ माघ – त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले युथ क्याम्पस जनकपुरलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सञ्चालनको लागि दिएको सम्बन्धन तथा खारेजीको विषयमा छानबीन गर्न समिति गठन गरेको छ ।
युथ क्याम्पसले बीसीए कार्यक्रम सञ्चालनका लागि अनुमति पाएको दुई महिनामा नै सम्बन्धन खारेज गरेपछि अनियमितता भएको प्रश्न उठेको थियो । क्याम्पस प्रमुख शिवनरायण झाले घुस नदिएका कारण सम्बन्धन खारेज भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
प्रक्रिया नपुगी स्वीकृति प्राप्त गरेकाले युथ क्याम्पसले पाएको बीसीएको सम्बन्धन खारेज भएको त्रिविको रजिस्ट्रार कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । तर सम्बन्धन खारेजीपछि अध्ययनरत विद्यार्थी व्यवस्थापन भइसकेको एक वर्षपछि यस्तो विषय उठ्नु र काम गर्ने जिम्मेवार पदाधिकारी माथि गलत आरोप लगाउनु गलत भएको रजिस्ट्रारको कार्यालयका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले उल्लेख गरेका छन् ।
युथ क्याम्पस, जनकपुरले कुनै शुल्क नबुझाई, आवश्यक प्रक्रिया पूरा नगर्दै विद्यार्थी भर्ना गरी कार्यक्रम सञ्चालन गरेको गुनासो आएपछि अनुगमन गरेको र त्यस क्रममा कलेजले असहयोग गरेको विज्ञप्तिमा जनाइएको छ ।
बीसीए कार्यक्रम सञ्चालन गर्न आवश्यक पूर्वाधारसमेत नभएको र सम्बन्धनसम्बन्धी नियम पनि नमानेकाले त्रिवि कार्यकारी परिषदको २०७७ फागुन १८ गते युथ क्याम्पसको बीसीए कार्यक्रम खारेज गरेको त्रिविले जनाएको छ ।
तर क्याम्पस प्रमुखले आफूलाई मर्का परेको भनी उपकुलपति कार्यालयमा निवेदन दिएपछि शिक्षाध्यक्षले छानबिन समिति गठन गरी स्थलगत अध्ययन गर्ने निर्णय गरेको थियो ।

