मंगलबारदेखि देशव्यापी रूपमा भइरहेको मौसम बदली, वर्षा र हिमपात आज बाट रोकिने
काठमाडौँ, १५ पुस – मंगलबारदेखि देशव्यापी रूपमा भइरहेको मौसम बदली, वर्षा र हिमपात आज बाट रोकिने भएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आजबाट मौसम सुधार हुने संकेत देखिएको हो।
‘पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ’, मौसमविद् बासीले भनिन्, ‘हिजोजस्तो देशव्यापी रूपमा आज हुँदैन।’ मंगलबार रातिदेखि हिजो दिनभर नै देशभर मौसम बदली, वर्षा र हिमपात हुँदा जनजीवन कष्टकर भएको थियो। आजबाट भने मौसममा सुधार आउने भएको हो।
‘आज काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना एकदम कम छ’, मौसमविद् बासीले भनिन्, ‘आज दिउँसो घाम लाग्ने सम्भावना छ।’ उनका अनुसार आज काठमाडौं उपत्यकामा मात्र होइन, देशका अन्य स्थानमा पनि मौसम खुल्ने र घाम देखिने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मात्र हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।
राति भने कतै वर्षाको सम्भावना छैन, प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका मात्र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको रहेको बुलेटिनमा उल्लेख छ।
अहिलेसम्मको अनुमानअनुसार आजदेखि देशभर क्रमशः मौसम सुधार हुँदै जाने सम्भावना देखिएको मौसमविद् बासीको भनाइ छ।
देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

