ललितपुर र भैरहवा विचको खेल टाई दुवै टोलीले १/१ अंक बाँडे
काठमाडौँ, १४ असोज – राजधानीमा जारी एभरेस्ट प्रिमियर लिगअन्तर्गतको आजको दोस्रो खेल बराबरी मै टुंगिएको छ। ललितपुरले भैरहवालाई १७८ रनको लक्ष्य पेस गरेकोमा अन्तिम बलमा ७ रन चाहिने थियो। अन्तिम बल सदुपयोग गर्दै भैरहवाका शरद भेषावकरले छक्का प्रहार गरेपछि ललितपुरले पनि १७७ रन बनायो। खेल टाई भएपछि दुवै टोलीले १/१ अंक बाँडेका हुन्।
जवाफी ब्याटिङ गरेको भैरहवाका लागि प्रदीप ऐरीले ८ बलमा २ रन, तमिम इकवालले १६ बलमा १४ रन, रोहित पौडेलले ५ बलमा २ रन, उपुल थारंगाले ४४ बलमा ६७ रन, आरिफ शेखले २८ बलमा २८ रन, कुशल मल्लले १९ बलमा ३५ रन र शरद भेषावकरले १ बलमा ६ रन बनाए। ललितपुरले भैरहवालाई २३ एक्स्ट्रा रन दिएको थियो।
बलिङतर्फ ललितपुरका रशिद खानले ३ र रिजन ढकालले २ विकेट झारे पनि अज्मतुल्लाह ओमारजाई, पवन सर्राफ र योगेन्द्र कार्कीले विकेट लिन सकेनन्। त्यसअघि ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्ससामु १७८ रनको लक्ष्य पेस गरेको थियो। निर्धारित २० ओभरको खेलमा ललितपुरले ७ विकेट गुमाई १७७ रनको योगफल तयार पारेको हो।
ठूलो लक्ष्य दिने क्रममा ललितपुरका स्यान्डुन विराकोदीले ४१ बलमा ५८ रनको योगदान गरे। कप्तान कुशल भुर्तेलले ५ बलमा २ रन जोड्दा ओसादा फर्नान्डोले १९ बलमा २० रन बटुले। त्यस्तै सन्दीप जोराले २५ बलमा ३८ रन, अज्मातुल्लाह ओमारजाईले २२ बलमा ४२ रनको योगदान गरे। पवन सर्राफले भने ३ बलमा १ रनमात्रै जोड्नसके। त्यस्तै योगेन्द्र सिंह कार्कीले ५ बलमा ७ रन बटुले।
बलिङतर्फ भैरहवाका धामिका प्रसादले १ विकेट, अविनाश बोहराले २, कृष्ण कार्की र आरिफ शेखले १÷१ विकेट लिए। दुर्गेश गुप्ता र शरद भेषावकरले भने विकेट लिन सकेनन्।

