यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिलोगरी बाहिरिने सम्भावना, आज देशभरकाे मौसम

काठमाडौँ, १३ असोज – यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिलोगरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्छ। तर, अहिलेसम्म त्यो अवस्थाको सिर्जना नभएकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए।

तुरुन्तै मनसुन नबाहिरिए पनि अब भारी वर्षाको सम्भावना भने नरहेको उनको भनाई छ। यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो । यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने अनुमान मौसमविद्ले गरेका छन्।

‘गुलाब’ नामक शक्तिशाली चक्रवात हिजोदेखि भारतको उडिसाको जमिनमा अवतरण भइसकेकाले यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।

आज देशभरकाे मौसम

मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने एक/दुई स्थानमा वर्षा भइरहेको छ। आज देशभर आंशिकदेखि सामान्यसम्म बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

Facebook Comments Box