युवा वर्ष मोती पुरस्कार प्रदान
काठमाडौँ, २२ भदौ – एक सय ५६औँ मोतीजयन्तीका अवसरमा आज यहाँँ आयोजित कार्यक्रममा युवा वर्ष मोती पुरस्कार प्रदान गरियो । राष्ट्रिय युवा सेवा कोषद्वारा प्रदान गरिँदै आएको युवा वर्ष मोती पुरस्कार २०७७ बाट महेश पौड्याल र मीनकुमार श्रेष्ठ ‘नवोदित’ तथा २०७८ का लागि प्रकाश पौडेल ‘माइला’ र हेम प्रभासलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति डा जगमान गुरुङले नेपाली शिक्षा परिषद्ले नेपाली भाषा, साहित्यको समुन्नतिका लागि २००८ सालदेखि निरन्तर कार्य गर्दै आएको उल्लेख गर्नुभयो । परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा भएको वेबिनारमा विभिन्न ४० कवि, कवयित्रीले ‘शान्ति सर्वत्र छाओस्’ विषयमा समस्यापूर्ति कविता वाचन गर्नुभएको थियो ।
सो अवसरमा पुरस्कृत व्यक्तित्व पौड्याल र प्रकाश पौडेल ‘माइला’, परिषद्का कोषाध्यक्ष शङ्करप्रसाद पाण्डे, सदस्य डा बमबहादुर थापा ‘जिताली’, सदस्य–सचिव लक्ष्मण थापाले युगकवि मोतीराम भट्टको साहित्यिक योगदानको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा विगत एक वर्षको अवधिमा दिवङ्गत हुनुभएका कवि–लेखकहरूको नामावली प्रस्तुति र सामूहिक श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।

