बाढीपहिरोका कारण विभिन्न राजमार्ग प्रभावित, गोरखामा सडक पूर्ण अवरुद्ध
काठमाडौँ । बाढीपहिरोका कारण देशका विभिन्न मुख्य सडकखण्डमा यातायात आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेका छन् भने गोरखाको एक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङको धुनिबेँसी नगरपालिका–९ खत्रीपौवामा असोज २१ गते पहिरो खसेपछि त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा रहेको छ।
त्यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेको छ। नवलपरासीको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा पनि सडक एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्डमा साना सवारीसाधन मात्र चल्न सक्ने र ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ।
यसैगरी, मनाङमा असोज १८ गते आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसार जाने सडकमा यातायात एकतर्फी सञ्चालन भइरहेको छ। गोरखाको आरुघाट गाउँपालिकाका विभिन्न स्थानमा आइतबार आएको बाढीका कारण सोतीस्थित फलामे पुल बग्नुका साथै गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक प्रभावित भएका क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन तथा सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिन्छ।

