इजरायलमा रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ
काठमाडौँ । इजरायलमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई शुक्रबार दिउँसो काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। रामेछापको सुनापती घर भएकी खड्कालाई पीडित युवाहरूको जाहेरीका आधारमा पक्राउ गरिएको ब्युरोले जनाएको छ।
प्रहरीका अनुसार खड्कामाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरिएको छ। यस प्रकरणमा प्रहरीले यसअघि नेपाली कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरिसकेको छ।
प्रहरीको दाबीअनुसार उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गर्दै केयर गिभरको काममा इजरायल पठाइदिने भन्दै १ सय ५६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेका थिए। ब्युरोका एसएसपी अनुपमशमशेर जबराका अनुसार पक्राउ परेकी बालिका सिवाकोटीले आफूले संकलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ नगद भरत चौलागाईंलाई दिएको बयान दिएकी छन्।
खड्काले पनि ठगीबाट प्राप्त रकम बाँडफाँट गरेर लिएको खुलेको प्रहरीको भनाइ छ। सन् २०२४ मा नेपाल सरकारले इजरायलमा कामदार पठाउन परीक्षा सञ्चालन गरेको थियो। त्यस क्रममा चिठ्ठा प्रणालीबाट २ हजार ९९ जना छनोट भएका थिए। प्रहरी अनुसन्धानअनुसार छनोटमा नपरेका व्यक्तिहरूलाई समेत इजरायल पठाइदिने आश्वासन दिएर रकम असुलिएको थियो।

