तनहुँमा बियर बोकेको मिनी ट्रक दुर्घटना, चालक बेपत्ता

तनहुँ । तनहुँको आबुखैरेनीमा मिनी ट्रक दुर्घटना हुँदा चालक बेपत्ता भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिका–४, ठुल्ढुङ्गामा गएराति साढे ९ बजेतिर बियर बोकेको मिनी ट्रक दुर्घटनामा परेको हो। मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०४१७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनापछि सुरक्षाकर्मीले घटनास्थलमा पुगेर खोजी गर्दा ट्रक चालक फेला परेका छैनन्। चालकको खोजीका लागि इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा १३ जनाको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box