३६ दिनको कठिन यात्रापछि म्याग्दी आइपुगे भेडाच्याङ्ग्रा किसान, बिक्रीमा ढिलाइको चिन्ता

म्याग्दी । दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगुबाट हिँडेका चार जना किसान ३६ दिनको कठिन यात्रापछि म्याग्दीको गलेश्वर आइपुगेका छन्। प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा लम्बिएको हो। मुगुको छायानाथ रारा नगरपालिका–६ का सञ्जय बिकसहितको टोलीले दुई सय भेडाच्याङ्ग्रा ल्याएको छ। गत भदौ १८ गते पोखरामा बिक्री गर्ने उद्देश्यले घरबाट हिँडेको टोली शुक्रबार साँझ गलेश्वर आइपुगेको हो।

डोल्पाको छार्कामा हिमपात भएपछि एक साता रोकिँदा यात्रा थप लम्बिएको बिकले बताएका छन्। अब दसैँअघि भेडाच्याङ्ग्रा बिक्री गर्न पाइने हो वा होइन भन्ने चिन्ता उनीहरूलाई छ। यसैगरी, डोल्पाको काइके गाउँपालिकाका सात जना किसान सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन्। उनीहरू २२ दिनदेखि यात्रामा छन्। डोल्पाकै अर्का किसान सञ्जय बुढा पनि २५ दिन पैदल हिँडेर एक सय ६० च्याङ्ग्रा बिक्री गर्न पोखरा जाँदै छन्।

असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा बजारसम्म पुर्‍याउन समस्या भएको हो। डोल्पाबाट मुस्ताङ आउने बाटोमा हिउँ जमेपछि कतिपय किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन सकेका छैनन्।

तातोपानी र रसुवा नाका बन्द रहेकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्तिका लागि मुस्ताङ मुख्य मार्ग बनेको छ। मुस्ताङमा भेडाच्याङ्ग्रा स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था गरिएको छ। कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइएको छ। गत वर्ष १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए।

सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्न तथा भेडाच्याङ्ग्रा खरिद गर्नसमेत कठिन भएको व्यापारीहरूले बताएका छन्। लामो यात्राका कारण ढुवानी र अन्य खर्च बढेको छ। व्यापारीका अनुसार मुस्ताङमा आकारअनुसार एउटा भेडाको मूल्य ३२ हजारदेखि ३५ हजार रुपैयाँसम्म र एउटा च्याङ्ग्राको मूल्य करिब ४० हजार रुपैयाँ छ। बेनीमा भेडाको मूल्य करिब ३६ हजार र च्याङ्ग्राको मूल्य ४५ हजार रुपैयाँसम्म पुगेको छ।

मुस्ताङका विभिन्न गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएको अनुमान छ। हिमाली किसानको मुख्य आयस्रोतका रूपमा रहेको च्याङ्ग्रापालनबाट उनीहरूले दसैँको बजारमा राम्रो आम्दानी गर्ने अपेक्षा गरेका हुन्छन्। तर, यसपालि प्रतिकूल मौसम, सडक अवरोध, लामो पैदल यात्रा र बढ्दो लागतले किसानको आम्दानी प्रभावित हुने चिन्ता बढाएको छ।

Facebook Comments Box