एउटै परिवारका चार सदस्यको भलिबल टिम, म्याग्दीमा चर्चा
म्याग्दी, २२ चैत – धवलागिरि गाउँपालिका–३ फलियागाउँ मा एकै परिवारका चार सदस्य सहभागी रहेको भलिबल टिमले स्थानीयस्तरमा चर्चा कमाएको छ। छ खेलाडी आवश्यक पर्ने टिममा सबहादुर गोतामे र उनका तीन छोरा स्थायी सदस्यका रूपमा खेल्दै आएका छन्।
४२ वर्षीय सबहादुरसँगै उनका २० वर्षीय छोरा नरेश गोतामे, १९ वर्षीय नवीन गोतामे र १७ वर्षीय केशव गोतामे भलिबलमा सक्रिय छन्। अन्य दुई खेलाडी थपेर उनीहरू विभिन्न प्रतियोगितामा ‘घरपरिवार भलिबल’ समूहका रूपमा सहभागी हुँदै आएका छन्।
नरेशका अनुसार बुबा सबहादुर सानैदेखि भलिबलमा सक्रिय रहँदै आएकाले आफूहरू पनि प्रेरित भएर खेलमा लागेको बताउनुहुन्छ। परिवारका सबै सदस्य अग्लो र पातलो शारीरिक बनावटका भएकाले टिममा सेटर, लिब्रोसहित विभिन्न भूमिकामा खेल्न सक्षम छन्।
‘घरपरिवार भलिबल’ टिमले हालै धवलागिरि गाउँपालिका–७ धारापानी र वडा नं. २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको छ। खेलसँगै उनीहरू अन्य विधामा पनि सक्रिय छन्। नवीन र केशवले गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा एथलेटिक्सतर्फ तीन–तीन स्वर्ण जित्दै आफ्नो विद्यालयलाई विजयी बनाउन योगदान दिएका छन्।
यसैगरी, नरेशले प्रदेशस्तरीय भलिबल प्रतियोगितामा गाउँपालिकाको प्रतिनिधित्व गरिसक्नुभएको छ भने नवीन र केशवले दौड तथा ज्याभलिन थ्रोमा पनि प्रतिस्पर्धा गरेका छन्। केशवले म्याग्दी कप भलिबल प्रतियोगितामा उत्कृष्ट सेटरको उपाधि समेत जितेका छन्।
विदेशबाट फर्किएका सबहादुर हाल घोडापालन तथा ढुवानी व्यवसायमा संलग्न छन्। आठ वटा घोडा पालेर गाउँ–गाउँमा तरकारी तथा फलफूल ढुवानी गर्दै आएका उनी फुर्सदको समयमा छोराहरूसँगै भलिबल खेल्दै आएका छन्।उनीहरूको खेलप्रति दर्शकको आकर्षण बढ्दै जाँदा आर्थिक तथा खेल सामग्री सहयोगसमेत प्राप्त हुन थालेको छ।
विदेशमा रहेका नेपालीहरूले जर्सी तथा ट्र्याकसुट सहयोग गर्दै उनीहरूलाई हौसला प्रदान गरेका छन्। “सहयोगले खेलमा अझ सक्रिय हुन प्रेरणा मिलेको छ,” सबहादुरले भन्नुभयो, “शारीरिक अवस्था साथ दिँदासम्म भलिबल खेलिरहने योजना छ।”

