लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराए : केपी शर्मा ओली

काठमाडौँ, ६ भदौ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाएका छन्। सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले एमालेले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको स्पष्ट पारे।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको बताए।

उनले भने, ‘म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु–सम्माननीय प्रधानमन्त्रीजी, तपाईको भूमि, तपाईंको पश्चिमको नक्सा, तपाईको प्रदेशको नक्सा, तपाईको जिल्ला भन्दा एक जिल्ला पर्तिरको नक्सा, दार्चुलाको नक्सा त्यहाँ लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको होकि होइन? त्यहीँ ठाउँको मान्छे, तपाईँले त डाँडामा उभिएर पनि हेर्नु भएको छ।

ल, भन्नुस् त्यो हो कि होइन? बोल्नुहुन्न उहाँ। महान क्रान्तिकारी, अनेक तमासा गर्ने प्रचण्डजी, लिम्पियाधुरा, लिपुलेक, कालापानी कसेको हो भन्नुस्? अस्ति जाँदा पनि चुइँक्क बोल्नु भयो इन्डियामा? चुइँक्क बोल्नु भएन। बोल्नुस्। माधव नेपाल भन्ने अर्को हुनुहुन्छ फेरि। उहाँ बोल्नुस्। कसको हो, लिम्पियाधुरा, लिपुलेक, कालापानी? शेरबहादुरजी जानु भयो।

प्रचण्डजी जानु भयो। आफूलाई नबोलाएकोमा बडो दुखित भएर बस्नु भएको आजकाल। शेरबहादुरलाई बोलाए। प्रचण्डलाई पनि बोलाए। मलाई बोलाएनन् भनेर बस्नु भएको छ। उहाँलाई दुःख त्यहीँ छ। बोल्न पर्दैन आफ्नो देशको बारेमा। नेपाली कांग्रेस मत उहिलेदेखि अहिलेसम्म नेपाली कांग्रेस नसप्रिएकोमा अचम्म लाग्छ।’

नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै ६० वर्षअघि हाम्रो हातबाट खोसेर लगेको सो जमिन हाम्रो हो भनेर एमाले नेतृत्वको सरकारले मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीले स्मरण गराए।

ओलीले भने, ‘६० वर्ष अगाडिदेखि, १४६ वर्षदेखि हामीले भोगचलन गरेको जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरुले नै लगेको रहेछ। त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाउँदैन, बोल्दैन। नेकपा एमाले बोल्यो, हामी बोल्यौँ। र, हामीले नक्सा जारी ग¥यौं। संविधानमा त्यसलाई समेट्यौँ। र, हामी पत्राचार गर्यौं भारतलाई।

यो हाम्रो हामीलाई दिनुस्। म सुन्छु यो कुरा भारतलाई मन परेको छैन रे। भारतलाई मन पर्छ कि पर्दैन होइन। भारतलाई मन पर्न पर्छ। नेपालले आफ्नो जमिन फिर्ता मागेर हामी अरुको जमिनमा दावी गरिरहेका छैनौं। हामी आफ्नो जमिन फिर्ता मागिराखेका छौं।

त्यत्ति पनि मन नपाउने? त्यस्तो पनि हुन्छ? त्यसकारण यो मन पराउनुपर्छ, फिर्ता गर्नुपर्छ। यो कुरासँग यो गठबन्धन भन्ने छ नि। गठबन्धनको हेर्नुस् त म्याउम्याउ। यिनीहरुले लिम्पियाधुरा, लिपुलेक, कालापानी भनेर भन्न सक्छन्, बोल्न सक्छन्?’ उनले सत्तारुढ दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरूलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको दोहोर्याए।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाए। प्रतिस्पर्धालाई छोडेर सत्तारुढ दलहरुले मिलेर राजनीतिलाई दुश्मनीको विषय बनाएको उनको भनाइ थियो। ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने दाबी पनि गरे।

Facebook Comments Box