नागरिकता विधेयक १३५ मतले पारित, विपक्षमा ६० मत

काठमाडौं, २ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीले फर्काइदिएको नागरिकता विधेयक फेरि संसदबाट मतदानमार्फत पारित भएको छ। बिहीबार  बसेको प्रतिनिधि सभाको बैठकबाट विधेयक हुबहु पारित भएको हो।

एमालेको मागअनुसार भएको मत विभाजनमा विधेयक पारित गर्नु पर्छ भन्नेमा १ सय ३५ मत परेको थियो। संसदमा कूल उपस्थिति संख्या १९५ थियो। त्यस्तै विपक्षमा ६० मत झरेको थियो। यसैगरी हुन्न भन्ने पक्षमा पनि शून्य सांसदले मत हालेका छन्।

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विधेयक हुबहु पारितका लागि निर्णयार्थ पेश गरेपछि प्रमुख प्रतिपक्षी एमालेले विरोध गरेको थियो।

एमालेको विरोधपछि ध्वनि मतले विधेयक पारित गर्न तयार रहेका सभामुख अग्नि सापकोटा यसको छिनोफानो मत विभाजनमार्फत गर्ने निर्णयमा पुगेका थिए। एमाले प्रमुख सचेतक विशाल भट्टराईले विरोध जनाउँदै बालुवाटारमा निर्णय गरेर संसदलाई अर्थहीन बनाएको उल्लेख गरेका थिए।​

अब विधेयक फेरि पारितका लागि राष्ट्रिय सभा पठाउने वा सभामुख सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनेबारे निर्णय गर्नेछन्।

नागरिकता विधेयकको पक्षमा सत्ता गठबन्धनका चार दल, लोकतान्त्रिक समाजवादी पार्टी उभिएको थियो। विधेयकको विपक्षमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा उभिएको थियो। एमालेले विधेयकलाई सर्वदलीय बैठक बोलाएर सहमति कायम गराउन आग्रह गरेको थियो।

एमालेको जबर्जस्ती गरिए परिणाम राम्रो नहुने चेतावनीबीच बहुमतले विधेयक पारित भएको हो। संसदका दुबै सदनबाट पारित भएको नागरिकता विधेयक १५ साउनमा सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि शितल निवास पठाएका थिए। तर, राष्ट्रपतिले विधेयकलाई १५ दिन रोकेर २९ साउनमा पुनर्विचार गर्न संसदमै फिर्ता पठाएकी थिइन्।

Facebook Comments Box