इटहरीमा एमाले नेता भित्र्याउने आशमा आएका नेपालले लोसपाका कार्यकर्ता भित्र्याए
इटहरी, २१ चैत – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल सोमबार इटहरी आए। नेपाल आएको बेला एमालेका हेविवेट नेताहरुलाई एकीकृत समाजवादीमा प्रवेश गराउने हल्ला थियो। तर, त्यसो भएन।
स्थानीय चुनावको मुखमा द्वारिकलाल चौधरीको एमाले भित्र अन्नतरद्वन्द्व बढ्दै गएकोले एसमा जाने हुन कि भन्ने चर्चा चलाइएको थियो। चौधरी मात्र हैन, एमाले जिल्ला कमिटीको अधिवेशन ताका असन्तुष्ट कार्यकर्ता समेत एसमा ठूलो मात्रामा ल्याउने चर्चा चर्चामै मात्र सिमित भयो।
एमाले नेता प्रवेश गराउने दाउमा आएका नेपालले लोसपाका कार्यकर्ताहरुलाई भने प्रवेश गराए। इटहरीमा खासै संगठन नदेखिएको लोसपाको सिंगो नगर कमिटीलाई प्रवेश गराएको नेकपा एसको दाबी छ।
कार्यकर्तासँग नाचेर सम्बोधन गरेका नेता नेपालले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई धूलो चटाउने बताए। उनले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको र कलम चिन्हप्रति जनताको आकर्षक बढेको दाबी गरे।

