विप्लव बन्दको कारण प्रदेश १ मा पनि सार्वजनिक यातायात ठप्प

इटहरी, ३० कात्तिक – नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव पूर्वमा पनि परेको छ। प्रदेश १ मा मंगलबार बिहानैदेखि सार्वजनिक सवारी चलेका छैनन्।

मंगलबार बिहानै लामो दुरीबाट आएका सबारी साधन गन्तव्यमा पुगेका भए पनि छोटो दुरीका सबारी साधन बिहानैदेखि चल्न नसकेका प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

‘बिहानैदेखि स्थानीय रुटका सार्वजनिक सबारी साधन चलेका छैनन्,’ तिम्सिनाले भने, ‘प्रदेश १ बाट बाहिर जाने लामो दुरीका सबारी साधनसमेत चलेका छैनन्। निजि सवारी भने फाट्टफुट्ट रुपमा चलिरहेका छन्। समग्रमा अहिले अन्य दिनको तुलनामा १० प्रतिशत यातायातका साधन अहिले सडकमा गुडेको देखिन्छ।’

यसैबीच उदयपुरको गाईघाटमा सबारी साधन बन्दको आह्वान गर्दै सडकमा निस्किएका विप्लव कार्यकर्तालाई प्रहरीले तितरभितर पारेको छ। बन्दको क्रममा अहिलेसम्म प्रदेश १ मा कुनै अप्रिय घटना भने नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

Facebook Comments Box