नेकपा एमालेले विधान महाधिवेशनमा प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रूप दियाे

काठमाडौँ, २ कार्तिक – नेकपा एमालेले आफ्नो विधानलाई अन्तिम रूप दिएको छ। गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रूप दिइएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा समितिका संयोजक एवं उपमहासचिव विष्णु पौडेलले विधानलाई अन्तिम रूप दिएका हुन्। विधानलाई सोमबार प्रकाशनमा पठाइएको छ।

विधानअनुसार राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् एमालेका केन्द्रीय निकाय हुन्। यस्तै केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् एमालेका केन्द्रीय निकाय हुन्।

पार्टीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष चार र महासचिव एक जना हुने व्यवस्था विधानले गरेको छ। यस्तै एक जना उपमहासचिव र ७ जना सचिव हुनेछन्। सबै गरेर एमालेको केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ।

नयाँ विधानअनुसार एमालेका प्रदेश कमिटी, प्रदेश अधिवेशन प्रतिनिधि परिषद्, जिल्ला कमिटी, जिल्ला अधिवेशन प्रतिनिधि परिषद् रहनेछन्। यस्तै पालिका/इलाका कमिटी, पालिका/इलाका प्रतिनिधि परिषद्, वडा/शाखा कमिटी, वडा/शाखा अधिवेशन प्रतिनिधि परिषद्, टोल/प्रारम्भिक कमिटी र टोल/प्रारम्भिक अधिवेशन प्रतिनिधि परिषद् रहनेछन्।

Facebook Comments Box