आज देशका अधिकांश स्थानमा मौसम सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना
काठमाडौँ, २ कात्तिक – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भइरहेको छ।
बुलेटिनअनुसार भोलि बुधबारसम्म देशभर वर्षा जारी रहने अनुमान छ, साथै कतिपय प्रदेशका हिमाली भेगमा हिमपातसमेत हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘भोलि सम्म देशभर वर्षा जारी रहने सम्भावना छ। भोलि रातिदेखि केही कम हुँदै जाने अनुमान छ।’
मौसमविद् मानन्धरका अनुसार अहिले काठमाडौं उपत्यकामा पनि मध्यम वर्षा जारी छ। ‘आज यहाँ पनि भारी वर्षाको सम्भावना छ’, उनले भनिन्।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान साथै बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम र प्रदेश नम्बर १ का केही स्थान र प्रदेश नम्बर २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ ।

