मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले आज प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्नेछ । समितिले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्नेछ ।

सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । उनले विश्वासको मतका लागि बुधबार नै प्रदेशसभा सचिवालयमा औपचारिक पत्र पठाइसकेका छन् । विश्वासको मत जुटाउन मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा छन् । मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने उनले बताएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । एक सय सात सदस्यीय मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् । कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन आवश्यक देखिएको छ ।

Facebook Comments Box