एनपीएलमा आज लुम्बिनी लाइन्स र विराटनगर किंग्स भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज एक मात्र खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदानमा उत्रनेछ ।
प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले ६ खेलबाट चार जित, एक हार र एक बराबरीसहित ९ अंक जोडेको छ । लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ । काठमाडौँ गोर्खाजसँग पराजित भएको लुम्बिनीले चितवन राइनोजसँगको खेल भने वर्षाका कारण रद्द भएपछि एक अंक बाँडेको थियो ।
यता, अंक तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगर किंग्सका लागि आजको खेल प्लेअफ यात्राका दृष्टिले महत्त्वपूर्ण छ । ६ खेलबाट तीन जित र तीन हार बेहोरेको विराटनगर ६ अंकसहित मैदानमा उत्रनेछ । विराटनगरले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई हराएको छ भने काठमाडौँ गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भएको छ । प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन विराटनगरलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

