गुल्मीमा भाउजुको हत्या आरोपमा देवर पक्राउ

गुल्मी । गुल्मीमा भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मालिका गाउँपालिका–२, खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्री रहेका छन्। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएकी ४२ वर्षीया लीला खत्रीको उपचारका क्रममा मृत्यु भएको हो।

कुटपिटबाट घाइते लीलालाई उपचारका लागि पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज लगिएको थियो। बुधबार बिहान करिब ११ बजे उनका छोरा हिराबहादुर खत्रीले अस्पतालबाट आमालाई आफैँ घर लगेका थिए। घटनाबारे शङ्का लागेपछि प्रहरीले लीलालाई गुल्मी जिल्ला अस्पताल, तम्घासमा स्वास्थ्य परीक्षणका लागि पुर्‍याएको थियो। त्यहाँ चिकित्सकले बुधबार दिउँसो २ बजे उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनाको अनुसन्धानका लागि बलबहादुरसँगै उनका ७६ वर्षीय बुवा भक्तबहादुर खत्रीलाई समेत पक्राउ गरेको छ। लीलाको उपचारमा उनका अर्का देवर चन्द्रबहादुर खत्री संलग्न रहेको पनि प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box