दसैँका लागि भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण सुरु, मूल्यमा वृद्धि

काठमाडौँ । दसैँलाई लक्षित गरी काठमाडौँ उपत्यकामा भित्र्याइएका खसीबोका, च्याङ्ग्रा तथा राँगाभैँसीको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। पशुसेवा विभागले उपत्यकाका विभिन्न बजार तथा प्रवेश नाकामा टोली परिचालन गरी पशुको स्वास्थ्य परीक्षण थालेको हो।

दसैँमा मासुका लागि ठूलो सङ्ख्यामा पशु भित्रिने भएकाले अस्वस्थ पशुको बिक्री रोक्न स्वास्थ्य परीक्षण गरिएको विभागले जनाएको छ। घटस्थापनादेखि नवमीसम्म परिचालित टोलीले स्वस्थ पशुको कानमा हरियो रङ लगाउने र अस्वस्थ पशुलाई रातो रङले चिह्न लगाउने व्यवस्था गरेको छ। उपभोक्तालाई खसीबोका खरिद गर्दा हरियो रङको चिह्न भए नभएको यकिन गर्न विभागले आग्रह गरेको छ।

विभागका अनुसार आइतबार मात्रै काठमाडौँ उपत्यकामा दुई हजार पाँच सय खसीबोका तथा च्याङ्ग्रा भित्रिएका छन्। गत वर्ष दसैँमा ३५ हजार आठ सय ४८ पशुको स्वास्थ्य परीक्षण गरिएको थियो। यस वर्ष भने बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा खसीबोका तथा च्याङ्ग्राको आपूर्तिमा समस्या भएको व्यवसायीले बताएका छन्।

आपूर्ति घट्ने अनुमानसँगै मूल्यसमेत बढेको छ। गत वर्ष प्रतिकिलो छ सयदेखि छ सय ५० रुपैयाँमा बिक्री भएको जिउँदो खसीको मूल्य यस वर्ष आठ सयदेखि आठ सय ५० रुपैयाँ पुगेको छ। त्यस्तै, च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार तीन सय ५० रुपैयाँ पुगेको छ, जुन गत वर्ष एक हजार एक सयदेखि एक हजार दुई सय रुपैयाँ थियो।

विगतका वर्षमा दसैँमा काठमाडौँ उपत्यकामा ५० हजारदेखि ५५ हजार खसीबोका खपत हुने गरेकामा यस वर्ष करिब ४० हजार मात्रै भित्रिने अनुमान गरिएको छ। त्यस्तै, तीन हजारदेखि चार हजार च्याङ्ग्रा खपत हुने अनुमान छ। सडक अवरोध र मूल्यवृद्धिका कारण यस वर्ष खसीबोका तथा च्याङ्ग्राको खपतसमेत घट्न सक्ने व्यवसायीको आकलन छ।

Facebook Comments Box