प्रदेशका अधिकार सुनिश्चित गर्न विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन
विराटनगर । संघीयता कार्यान्वयनका क्रममा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशका अधिकार सुनिश्चित गर्ने साझा धारणा बनाउन आजदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ। कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनमा सहभागी हुन छ प्रदेशका मुख्यमन्त्री विराटनगर पुगिसकेका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको सहभागिता भने निश्चित भइसकेको छैन। उक्त प्रदेशबाट प्रमुख सचिव सम्मेलनमा सहभागी हुन विराटनगर आएका छन्। सम्मेलनमा सहभागी हुन मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही सोमबार नै विराटनगर आइपुगेका हुन्।
सुदूरपश्चिम प्रदेशमा बजेटसम्बन्धी विवाद रहेकाले मुख्यमन्त्री भट्ट सम्मेलनमा सहभागी हुन नआएको जनाइएको छ। बजेट विवाद समाधान भए मंगलबार बेलुकासम्म उहाँ विराटनगर आइपुग्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले जनाएको छ।दुई दिनसम्म चल्ने सम्मेलनमा मुख्यमन्त्रीसँगै प्रदेशका प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको टोली सहभागी हुनेछ।
सम्मेलनमा प्रदेशका अधिकार, वित्तीय स्रोतको बाँडफाँट, कानुन निर्माणमा एकरूपता र प्रदेशहरूबीच असल अभ्यासको आदानप्रदानलगायत विषयमा छलफल हुने बताइएको छ। साथै, प्रदेशका साझा माग र एजेन्डा तय गरी संघीय सरकारसमक्ष सामूहिक रूपमा आवाज उठाउने रणनीति बनाइनेछ।
सम्मेलनको अन्त्यमा प्रदेशहरूका साझा माग, प्रतिबद्धता र संघीयतालाई थप बलियो बनाउने विषय समेटिएको ‘विराटनगर घोषणापत्र’ जारी गरिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभएको छ।

