पावर बैंकमा आगलागी भएपछि इन्डिगोको विमान हैदराबादमा आकस्मिक अवतरण

भारत – भारतको दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा यात्रुको पावर बैंकमा आगलागी भएपछि हैदराबादमा आकस्मिक अवतरण गराइएको छ। आइतबार उडानका क्रममा पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो।

इन्डिगोका अनुसार उडान नम्बर ६ ई ६११५ का चालक दलका सदस्यले विमानभित्र लागेको आगो निभाएका थिए। घटनामा सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेका छन्। एयरलाइन्सका प्रवक्ताका अनुसार स्थापित सुरक्षा प्रक्रियाअनुसार विमानलाई हैदराबादतर्फ मोडेर सुरक्षित अवतरण गराइएको हो।विमानका यात्रुलाई गन्तव्य चेन्नईसम्म पुर्‍याउन अर्को विमानको व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ। घटनाबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।

Facebook Comments Box