भालुको पित्त र हात्तीको दाह्रासहित तीन जना पक्राउ
काठमाडौँ । संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित प्रहरीले काठमाडौँ र सिन्धुलीबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, लैनचौरको टोलीले भालुको पित्तसहित नवलपरासीका योगेन्द्रप्रसाद चौधरी तथा हात्तीको दाह्रासहित सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाका अनुसार चौधरीलाई काठमाडौँको सोह्रखुट्टेबाट तथा माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीले चौधरीको साथबाट १४० ग्राम तौलको भालुको पित्त एक थान तथा माझी र विश्वकर्माको साथबाट ६ किलोग्राम तौलको हात्तीको दाह्रा बरामद गरेको जनाएको छ। पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौँ तथा माझी र विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुलीमा बुझाइएको ब्यूरोले जनाएको छ।

