निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा महिलाको सङ्ख्या पुरुषभन्दा बढी
काठमाडौँ, २१ माघः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेको अन्तिम बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी देखिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फको अन्तिम बन्दसूचीमा एक हजार सात सय ७२ जना महिला र एक हजार तीन सय ६३ जना पुरुष उम्मेदवार रहेका छन्।
समानुपातिक प्रणालीतर्फ ६३ राजनीतिक दल सहभागी छन् भने आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ। आयोगका अनुसार अन्तिम नामावलीमा कूल तीन हजार एक सय ३५ जना उम्मेदवार समावेश छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।
विभिन्न कारणले ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइएको छ। कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जना तथा प्रदेशसभाको समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जनाको नाम हटाइएको आयोगले जानकारी दिएको छ।
यसैगरी, तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नपरेका एक जना तथा सम्बन्धित राजनीतिक दलको अनुरोधमा हटाइएका १० जनाको नाम समेत अन्तिम बन्दसूचीबाट हटाइएको छ।

