रुपन्देहीमा स्कुल बस–ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
काठमाडौँ, २० माघ – रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा मंगलबार बिहान स्कुल बस र धान बोकेको ट्याक्टर आपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्। दुर्घटनामा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए।
नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो। घाइतेमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा र ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ भने ४ जना उपचारपछि घर फर्किएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार बिहानपख बाक्लो हुस्सुका कारण दृश्यता कम हुँदा दुर्घटना भएको देखिएको डीएसपी सापकोटाले बताए। बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

