पर्वतमा गहुँको प्रजनन बिउ उत्पादन सुरु, किसानमा उत्साह
पर्वत, २३ चैत – पर्वत जिल्लामा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउ उत्पादनका लागि गहुँ खेती विस्तार गरिएको छ। फलेवास नगरपालिका–६ देविस्थान चौबीसकुरियामा प्रजनन गहुँको मूल बिउ उत्पादन गर्दै अनुसन्धान कार्य अघि बढाइएको हो। कृषि विकास कार्यालय पर्वतका अनुसार बिउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको छ।
राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यालयको सहकार्यमा स्थानीय जातसँगै थप आठ प्रजातिका गहुँमाथि अनुसन्धान भइरहेको छ। ‘आत्मनिर्भरताका लागि बिउ उत्पादन’ कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गरिएको हो। कार्यालयकी सूचना अधिकृत सोविता सुवेदीका अनुसार गौतम, भेरीगङ्गा, हिमगङ्गा, जिंक लगायतका जातमा परीक्षण भइरहेको छ।
स्थानीय शक्ति कृषि तथा पशुपक्षी फार्ममार्फत २० जना किसानले सामूहिक रूपमा प्रजनन गहुँको बिउ उत्पादनमा संलग्न छन्। अन्य प्रजातिको तुलनामा यी जातबाट राम्रो उत्पादन भइरहेको जनाइएको छ। सिँचाइको पहुँच र खेतीको सहजताका कारण किसानहरू हिउँदेबालीअन्तर्गत गहुँ खेतीतर्फ आकर्षित भएका छन्।
गत वर्ष पहाडी क्षेत्रमा उपयुक्त जात पहिचानका लागि गरिएको अनुसन्धान सफल भएपछि यस वर्ष पनि प्रजनन बिउ उत्पादनलाई निरन्तरता दिइएको हो। स्थानीय किसान रमेश चापागाईँले कृषि प्राविधिकहरू खेतमै आएर अनुसन्धान गर्दा किसानलाई नयाँ प्रविधि सिक्न र भविष्यमा उत्पादन बढाउन सहज भएको बताए। उनका अनुसार कुन भूगोलमा कुन बाली उपयुक्त हुन्छ भन्नेबारे चेतना समेत बढेको छ।
जलवायु परिवर्तन, तापक्रम वृद्धि, हिउँदे वर्षाको कमी र सिँचाइ अभावका कारण घट्दो गहुँ खेतीप्रति केन्द्रले उपयुक्त प्रजाति सिफारिस गरेपछि किसानको आकर्षण पुनः बढ्ने अपेक्षा गरिएको छ। गत वर्ष परीक्षण गरिएका आठ प्रजातिमध्ये हाल चार प्रजाति सिफारिसको चरणमा पुगेका छन्।
एनएल ११७९, एनएल १४८८, एनएल १४८६ र एनएल १४५० नामका गहुँ जात खेतीका लागि सिफारिस गर्ने तयारी गरिएको छ। यी प्रजाति समुद्री सतहदेखि करिब ८०० मिटर उचाइसम्म राम्रो उत्पादन दिने बताइएको छ।

