म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन
म्याग्दी, २६ माघ – यस वर्ष म्याग्दी जिल्लामा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला म्याग्दीको प्रमुख नगदे बाली हो। कृषि विकास कार्यालय म्याग्दीका अनुसार जिल्लाका ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलव पाँच मेट्रिक टनका दरले चार हजार ५१५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।
जिल्लाका विभिन्न स्थानका बगैँचामा बाली कटानीपछि तथ्याङ्क सङ्कलन गरिएको कार्यालय प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो। “४३० हेक्टर क्षेत्रफलको बगैँचाबाट सुन्तला उत्पादन भएको छ,” उहाँले भन्नुभयो, “किसानले सरदर प्रतिकिलो रु ७० का दरले रु ३१ करोड ६० लाख बराबरको सुन्तला बिक्री गरेका छन्।”
म्याग्दीमा हाल ८३५ हेक्टर क्षेत्रफलमा सुन्तलाका बगैँचा रहेका छन्। गत वर्ष भने ४२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। त्यतिबेला रु ३४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो। गत वर्षको तुलनामा यस वर्ष उत्पादन पाँच दशमलव ५६ प्रतिशतले घटेको छ।
यस वर्ष रोगकीराको उल्लेखनीय सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालय प्रमुख बाँस्तोलाले बताउनुभयो। “यस वर्ष मौसमले साथ दिएको हो। रोगकीरा देखिएको छैन र कुनै विपद्ले क्षति पनि पुर्याएको छैन,” उहाँले भन्नुभयो, “तर सुन्तलाखेतीको प्राकृतिक विशेषता अनुसार एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम दाना लाग्ने भएकाले यसपालि उत्पादन घटेको हो।”
सुन्तलाखेतीको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्व भने घटेको छ। गत वर्ष प्रतिकिलो रु ६५ मा बिक्री भएको सुन्तला यस वर्ष प्रतिकिलो रु पाँच बढी मूल्यमा बिक्री भएको छ। राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङ क्षेत्रमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका छन्।
जिल्ला सदरमुकाम बेनीसहित काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला बिक्री भएको मङ्गला गाउँपालिका–३ भोर्लेनीका किसान ओम गिरीले जानकारी दिनुभयो। उहाँले यस वर्ष आफ्नै बगैँचाबाट रु ११ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको बताउनुभयो।
यातायात सुविधा सहज भएकाले व्यापारी गाडी लिएर बगैँचामै सुन्तला खरिद गर्न आउने गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय तथा स्थानीय तहका कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन्।

