एनपीएलमा लुम्बिनीको प्लेअफ सम्भावना कायम,विराटनगरलाई पाँच विकेटले पराजित

काठमाडौ, १७ मंसिर – अष्ट्रेलियन ब्याटर डार्सी सर्टको उत्कृष्ट अर्धशतकको मद्दतमा लुम्बिनी लायन्सले बुधबार विराटनगर किंग्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ सम्भावना ज्यूँदो राख्न सफल भएको छ।

विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेटका क्षतिमा पूरा गर्दै सिजनको तेस्रो जित दर्ता गर्यो। ६ खेलबाट ६ अंक जोडेको लुम्बिनी तालिकाको चौथो स्थानमा उक्लिएको छ।

अब लुम्बिनीले शुक्रबार जनकपुर बोल्ट्ससँग लिग चरणको अन्तिम खेल खेल्नेछ। सो खेलमा जित र अन्य खेलहरूको नतिजा अनुकूल आए लुम्बिनी प्लेअफमा प्रवेश गर्न सक्छ।

उता विराटनगरले ६ खेलमा दोस्रो हार व्यहोर्दै ८ अंकसहित तालिकाको तेस्रो स्थानमा रह्यो। विराटनगरको लिगको अन्तिम खेल शनिबार प्लेअफ पुगिसकेको सुदूरपश्चिम रोयल्ससँग हुनेछ। त्यसअघि हुने खेलहरूको नतिजाले विराटनगरलाई आवश्यक पर्ने परिदृश्य स्पष्ट हुनेछ।

लुम्बिनीको जितमा डार्सी सर्टले ४४ बलमा ६ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए। निरोशन डिकवेलाले अविजित २९ रन, सन्दीप जोराले २४, दिलीप नाथले १६ तथा सुमित महर्जनले १० रन जोडे।

पहिलो विकेटका लागि सर्टले सुमित महर्जनसँग २९ रनको साझेदारी गरे। कप्तान रोहित पौडेल खाता नखोली आउट भएपछि उनले सन्दीप जोरासँग ३७ रनको साझेदारी पुगे। आउट हुनुअघि सर्टले डिकवेलासँग ४६ रन जोडे। अन्तिममा डिकवेलाले सहजै लुम्बिनीलाई लक्ष्यमात्रा पार गराए।

विराटनगरको बलिङतर्फ कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। सुभाष भण्डारीले पनि २ विकेट लिए।कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनायो।

लोकेश बमले वान–डाउनमा आएर ४२ बलमा ३५ रन बनाए। बसिर अहमदले १९ बलमा २८ रन, साम हिजलेटले २० बलमा २७ रन योगदान दिए। एनपीएल डेब्यु गरेका दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसीले ९ बलमा १२ रन बनाए।

प्रतिश जिसीले ११ रन थपे। लुम्बिनीका शेर मल्लले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले एक–एक विकेट झारे।

Facebook Comments Box