राष्ट्रिय महाधिवेशनका लागि दुमी किरात राईहरू खोटाङको खार्मीमा भेला
खोटाङ, १७ मङ्सिर – देश–विदेशमा बसोबास गर्ने दुमी किरात राई समुदायका सदस्यहरू आठौँ राष्ट्रिय महाधिवेशनका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीस्थित रुधालुङमा एकत्रित भएका छन्। नेपालसहित भारतको सिक्किम र दार्जिलिङ, हङकङ, अमेरिका र बेलायतबाट पनि सहभागी आएर महाधिवेशनको वातावरण उत्साहपूर्ण बनेको छ।
‘पुख्र्यौली ज्ञान, साझा पहिचान’ भन्ने नारासहित आयोजित यस महाधिवेशनमा नयाँ नेतृत्व चयन, आर्थिक तथा संगठनात्मक प्रतिवेदन पारित गर्नका साथै आगामी रणनीति तय गरिने दुमी किरात राई फन्सीकीमका महासचिव तेजमाया मुरह दुमी राईले जानकारी दिइन्। किरात समुदायको प्रमुख पर्व ‘छीरीयाम्लो (उँधौली)’ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा अध्यक्षदेखि सह–कोषाध्यक्षसम्मको २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ।
उद्घाटन समारोह र सांस्कृतिक प्रस्तुति
महाधिवेशनको औपचारिक उद्घाटन नगरप्रमुख तीर्थराज भट्टराईले ब्यानर वाचन तथा दुमी समुदायका नाग्रे कुबी (पित्रे धामी) द्वारा तीन चुल्हा पूजा गरेर सम्पन्न गरियो। उद्घाटन समारोहमा साकेला सिली, मारुनी, कुबी, तयातङ्कुबाट मुन्दुमी बखानसहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो।
उद्घाटन भाषणमा नगरप्रमुख भट्टराईले खोटाङ किरात भूमि भएकाले नगरपालिकाको लेटरहेडमा किरात लिपि समावेश गरिएको बताए। “म भट्टराई परिवारमा जन्मिए पनि किराती हुँ, किराती हुनुमा गर्व छ,” उनले भने। उनले मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी तथा सङ्ग्रहालयमार्फत किरात सभ्यताको प्रचार–प्रसारमा नगरपालिकाले महत्वपूर्व योगदान दिएको बताए।
दुमी किरात राई वंशावली विमोचन
माझ किरात क्षेत्र मानिने खार्मीको जगत आधारभूत विद्यालयको प्राङ्गणमा दुईदिनसम्म सञ्चालन हुने महाधिवेशनमा दुमी किरात राईहरूको विस्तृत वंशावली पनि सार्वजनिक गरिएको छ। संस्कृतिविद् चतुरभक्त राईद्वारा ३२ वर्षको मेहनतमा तयार पारिएको ९५० पृष्ठको वंशावलीमा २२ पाछा र ११ सामायी समेटिएका छन्। फन्सीकीमले उहाँलाई ताम्रपत्र र फेटा (सफरी) सहित सम्मान गरेको छ।
विशेष उपस्थितिसहित विविध कार्यक्रम
महाधिवेशनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राई, विभिन्न वडाध्यक्ष, साम्पाङ राई जुम्लेखाका अध्यक्ष वीरकाजी राई, संस्कृतिविद्, किरात पुर्खा तथा कुबी–तयातङ्कु प्रतिनिधिहरू सहभागी थिए।
किरात यले सम्बत् (यल थो ५०८५) विशेष अवसर पारेर भइरहेको यस महाधिवेशनमा शुभकामना आदानप्रदान, सांस्कृतिक झाँकी तथा बुढापाकाबाट मुन्दुमी ज्ञानको आदानप्रदान जस्ता गतिविधि समेत सञ्चालन हुँदैछन्। दुमी किरात राई समुदायले खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पालाई आफ्नो उद्गमस्थलका रूपमा मान्ने गर्छन्।

