म्याङलुङ–तमोर लुबुघाट सडकखण्डको स्तरोन्नति तीव्र

तेह्रथुम, ७ मङ्सिर – म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्ड स्तरोन्नति भइरहेको छ। एक सातादेखि म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा कच्ची सडक सुधारको काम अघि बढाइरहेका छन्।

म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम पूरा भएपछि लागत दुवै वडाले आधा–आधा व्यहोर्ने व्यवस्था गरिएको छ। म्याङलुङ–२ का वडाध्यक्ष राजकुमार लिम्बूले ८० प्रतिशत काम सकिएको जानकारी दिए। नगरपालिकाका स्काभेटर र ट्र्याक्टर प्रयोग गरी सडक सुधार कार्य भइरहेको छ।

यो सडक सदरमुकाम म्याङलुङलाई छिमेकी जिल्ला पाँचथरको फिदिमसँग छोटो दूरीमा जोड्ने महत्वपूर्ण मार्ग हो। पाँचथरको कुम्मायक गाउँपालिकाबाट शुक्रबारे हटिया आउन यसै मार्गको प्रयोग हुँदै आएको छ। तेह्रथुम–पाँचथर दुवै जिल्लाका बासिन्दाका लागि यो मार्ग अत्यन्त महत्वपूर्ण मानिन्छ।

कुम्मायक क्षेत्रका किसानले उत्पादन गर्ने दाल, बदाम, मकै, कुखुरा, सुँगुरका पाठालगायत कृषि तथा पशुपालनजन्य वस्तु प्रायः म्याङलुङ बजारमै बिक्री हुने गर्दछन्। पहिल्यै घण्टौँ हिँडेर बजार ल्याउनुपर्ने सामान अहिले सडक सुध्रिँदै गएपछि लुबुघाटदेखि म्याङलुङसम्म ट्र्याक्टरमार्फत सहज रूपले ढुवानी हुँदै आएको छ।

वर्षायाममा खाल्डाखुल्डीका कारण सवारी चलाउन कठिनाइ भएकाले स्तरोन्नतिसँगै कुम्मायकबाट म्याङलुङ हटिया आउने स्थानीयवासीलाई ठूलो राहत मिल्नेछ। साथै, म्याङलुङबाट फिदिम र तमोर करिडोर हुँदै धरानसम्मको आवतजावत पनि सहज हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box