‘सर्वोत्कृष्ट कर्मचारी नपाउनु सुशासन नहुँदो संकेत’
कर्णाली, २२ भदौ – राज्यले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्नु सार्वजनिक निकायमा सुशासन कायम हुन नसकेको संकेत भएको सरोकारवाला निकायका प्रतिनिधिहरूले बताएका छन्।
निजामती सेवा दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समारोहमा वक्ताहरूले कर्मचारीहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेमा उत्कृष्ट कर्मचारी प्रशस्त भेटिने धारणा व्यक्त गरे।
सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले करिब एक दशकदेखि राज्यले सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिन नसक्नु दुःखद भएको बताउनुभयो।
विसं २०७३ पछि यस्तो पुरस्कार वितरण हुन नसकेको स्मरण गर्दै उहाँले, “के राज्यमा पुरस्कार पाउन लायक कर्मचारी छैनन्?” भन्ने प्रश्न गर्नुभयो। उहाँका अनुसार सकारात्मक काम गर्नेहरूलाई पुरस्कृत र गल्ती गर्नेहरूलाई दण्डित गर्ने संस्कृतिको विकासले मात्र सुशासन सम्भव हुन्छ।
कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव लक्ष्मीबहादुर विकले राजनीतिक नेतृत्व र सरकारले जनअपेक्षामुखी कार्य गर्न सकेमात्र जनताको जीवनस्तरमा सुधार हुने धारणा राख्नुभयो।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जगदिश्वर उपाध्यायले राजनीति र प्रशासनबीच मित्रता र सहकार्य कायम भए मात्र विकास, समृद्धि र सुशासन सम्भव हुने बताउनुभयो।
कार्यक्रममा रक्तदान, वृक्षारोपण र सामाजिक संस्थामा सहयोगजस्ता गतिविधि समेत गरिएको थियो। प्रशासकीय अधिकृत हितप्रसाद पौडेलका अनुसार प्रजिअसहित ३४ जनाले रक्तदान गरेका छन् भने ५२ वटा पारिजातका बिरुवा रोपिएको छ। साथै, मानव सेवा आश्रम र प्रशान्ति वृद्धाश्रमलाई खाद्यान्न वितरण तथा भोजन गराउने कार्यक्रमसमेत सम्पन्न भएको छ।

