भुइँमान्छेहरुको आवाज उठाउँदा प्रचण्ड सरकारले खेद्न थाल्यो : दुर्गा प्रसाई

काठमाडौं, ३० फागुन – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन गरेको बताएका छन्।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको बताए।

तर संयोजक थापा प्रहरीबाट छुटिसकेका छन्। उनले अन्य राजनीतिक दलका युवा संगठनहरु भएजस्तै आफूहरुको युवा संगठनको रुपमा कालोमोसो दस्ता बनाए पनि दस्ताले हालसम्म कसैलाई मसो नदलेको बताए।

तर सरकारले पक्राउ गरेर व्यक्तिको संविधानप्रदत्त अधिकार हनन् गरेको उनले बताए। बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजविरुद्ध आवाज उठाएर आन्दोलन गरिरहेको उनले बताए। प्रसाईले बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएको भन्दै तिनकाविरुद्ध गाउँ गाउँबाट आन्दोलनमा उत्रिन आह्वान गरे।

प्रसाईले नेकपा(एमाले)को युवा संघ, माओवादी केन्द्रको वाईसीएल र नेपाली कांग्रेसको तरुण दल जस्तै आफूहरुको अभियानको कालोमसो दस्ता बनाएको बताए।

‘त्यो बनाएकै भरमा केही नगरी उहाँलाई पक्रेर लगेर थुनियो। कति अराजक रहेछ मुलुक। संविधान प्रदत्त अधिकार हनन् गर्‍यो’, उनले भने, ‘उहाँले सर्वहारा वर्ग र भुइँमान्छेको कुरा गरिराख्दा प्रचण्ड सरकारले पक्रेको हो। मलाई पनि खेदिरहेको छ। तर म भाग्नेवाला छैन।

अब स्वतःस्फुर्तः देश, गाउँ, हरेक ठाउँबाट सामन्त ठेगान लगाउने काम गर्नुपर्छ। बैंक र लघुवित्तहरुलाई डा छोड्यो भने हाम्रो घर, जग्गा, जमिन लिलाम हुँदैछन्। हामी सुकुम्वासी हुँदैछौँ।’

उनले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको भन्दै चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरुलाई तिर्न पनि आग्रह गरे। तिर्न नसक्नेका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने उनले बताए। उनले लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने पनि बताए।

‘दुर्गा प्रसाईंले २० लाखदेखि मुनिको ऋण मिनाहा गर्छु भनेको छ भनेर चितवनमा पनि हाम्रो आन्दोलनविरुद्ध लघुवित्तका सिइओहरु घुमेको देखेँ। जो मान्छेले तिर्नसक्छ, तिर्नुस्।

तिर्नु पर्दैन भनेको होइन। शक्ति हुने मान्छे, पैसा हुने मान्छेले तिर्दा हुन्छ’, उनले भने, ‘यो आन्दोलन सर्वहाराका लागि हो। जसले तिर्न सक्दैन त्यसको मिनाहा गरिदिऊँ भनेको हो।’

लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने उनले बताए। ‘मान्छेहरुले गलत बुझेका छन्। जो मान्छेले तिर्नसक्छन् तिरुन्। ४० प्रतिशत नै तिर्छन्। हुनेले तिर्दा भयो। यो त नहुनेसँगको कुरा हो। हामीले नहुने मान्छेका लागि कुरो उठाएको हो। उहाँहरुले बुझ्दा हुन्छ’, उनले भने।

प्रसाईंले बैंक तथा लघुवित्तविरुद्धको आन्दोलन जारी रहेको बताए। उनले निरन्तर रुपमा देशभर विभिन्न आन्दोलनको कार्यक्रम गरिने पनि बताए।

Facebook Comments Box