जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई नबेच्न आदेश
स्याङ्जा, २८ पुस – काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई नबेच्न आदेश दिएको छ।
नेपाल बंगलादेश बैंकमा आईएफआईसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई बिक्री गर्ने प्रक्रिया रोक्न न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले आदेश गरेको हो।
सनराइज बैंकका अध्यक्ष समेत रहेका व्यवसायी मोतीलाल दुगडले बंगलादेश बैंकले आफूलाई बेच्ने सहमति गरेर पनि पुनः चौधरी ग्रुपलाई सेयर बेच्न लागेको भन्दै मुद्दा दायर गरेका थिए।
दुगडले दायर गरेको मुद्दामा मंगलबार बहस सकिएको थियो। आज बुधबार फैसलाको पूर्णपाठ जारी गर्दै अदालतले उक्त सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु’ भनेर आदेश दिएको हो।
उक्त सेयर किन्न आठ महिनाअघि नै अर्थात् गत अप्रिल २ मा सनराइज बैंकसँग लिखित सम्झौता भएको थियो। सम्झौतापछि गत असार अन्तिममा ३५ दिन म्याद राखेर आईएफआईसीले सेयर बिक्रीसम्बन्धी सूचना निकालेको थियो।
सम्झौता भए पनि सेयर बिक्रीमा भने उसले आलटाल गर्दै आएको थियो। असारमा आईएफआईसीले ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर बिक्रीमा राखेको थियो। यो सेयर साढे ५ अर्ब नेपाली रुपैयाँबराबरको हो।
सम्झौता भए पनि नबिल बैंकको लगानीकर्ता चौधरी ग्रुपले सेयर खरिदको लागि चासो दिएपछि त्यो सेयर अहिलेसम्म खरिदबिक्री भएको छैन।एनबी बैंकको मर्जर कमिटी नबिल बैंकतिर ढल्किएपछि खरिदबिक्री प्रक्रिया अगाडि बढेको थिएन।

