२४ घण्टामा १७ विपद्का घटना, तीन जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सिरहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेल्धुरामा सर्पदंशका घटना भएका छन्।
त्यस्तै, ओखलढुङ्गा, सल्यान, बागलुङ र प्यूठानमा पहिरो तथा धनुषा, भक्तपुर, चितवन र लमजुङमा आगलागी भएको छ। बर्दियामा हावाहुरी तथा कैलाली र कास्कीमा चट्याङका घटना भएका छन्। झापामा जनावरको आक्रमण भएको प्राधिकरणले जनाएको छ। विपद्मा परी घाइते भएकाहरूको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ। विभिन्न घटनाबाट करिब ५० लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
मौसममा आएको परिवर्तनसँगै विभिन्न स्थानमा विपद्का घटना दोहोरिन सक्ने भएकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जानसमेत प्राधिकरणले अनुरोध गरेको छ।

