नेपाल–रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

काठमाडौँ । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौँमा हुँदैछ। नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नुहुनेछ भने रुसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नुहुनेछ।

बैठकमा नेपाल–रुस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्दै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोगलगायतका क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुनेछ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषयले पनि बैठकमा स्थान पाउनेछन्।

नेपाल र रुसबीच नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले सन् १९९५ मा परामर्शसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो। संयन्त्रको पहिलो बैठक सन् २००७ मा मस्को र दोस्रो बैठक सन् २०१८ अप्रिलमा काठमाडौँमा भएको थियो।

यसैबीच, रुसी उपविदेशमन्त्री रुडेन्कोले मंगलबार काठमाडौँमा आयोजित ‘ओपन डाइलग’मा नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले विपद्का बेला रुस आफ्नो क्षमताअनुसार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनुभएको छ। उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे उठाएको विषयको प्रशंसा गर्दै जलवायु परिवर्तन विश्वका लागि ‘अलार्म बेल’ भएको बताउनुभएको छ।

रुडेन्कोले आगामी शैक्षिक वर्षमा नेपाली विद्यार्थीका लागि रुसमा अध्ययन गर्न ५२ वटा छात्रवृत्ति कोटा उपलब्ध गराउने जानकारी पनि दिनुभएको छ। उहाँको नेपाल भ्रमणका क्रममा नेपाली नागरिक रुसी सेनामा भर्ती भएको विषय, बेपत्ता तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्तिलगायतका विषयमा नेपाली पक्षले छलफल गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box