म्याग्दीमा बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसी बस्ती जोखिममा
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गरेपछि दुखुबेँसी बस्ती जोखिममा परेको छ। असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षापछि आएको बाढीले पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी–दरवाङ सडकमा क्षति पुर्याएको हो। बाढीले सडकको करिब एक सय मिटर खण्ड पूर्ण रूपमा भत्काएको छ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराएपछि सडक कटान भएको हो। सडक भत्किएर पहिरो बस्ती नजिक पुगेकाले करिब १४० घरपरिवार रहेको दुखुबेँसी गाउँ जोखिममा परेको छ।
तत्कालका लागि दुखुखोलामा ह्युम पाइप राखेर दुखुबेँसी हुँदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरिए पनि सडक साँघुरो र कच्ची भएकाले ठूला सवारीसाधन आवतजावतमा समस्या भएको छ। बाढीले ह्युम पाइप बगाउने जोखिमसमेत रहेको स्थानीयले बताएका छन्।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख राजेश उलकका अनुसार सडकलाई खोलाको किनारबाट पक्की पर्खाल उठाएर पुनर्निर्माण गर्नुपर्ने अवस्था छ। डिलतर्फ पर्याप्त ठाउँ नभएकाले भित्ता काटेर सडक बनाउँदा बस्ती थप जोखिममा पर्ने उनको भनाइ छ। यसैबीच, सडक पुनर्निर्माण, नदी कटान नियन्त्रण र बस्ती संरक्षणका लागि मंगलबार प्रदेशसभा सदस्य रेशम जुग्जालीसहितको टोलीले प्रभावित क्षेत्रको निरीक्षण गरेको छ।
प्रदेशसभा सदस्य जुग्जालीले सडक सञ्चालन, पुनर्निर्माण, कटान नियन्त्रण र बस्ती संरक्षणको कामलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने बताएका छन्। दसैँअघि सडक सञ्चालन गर्ने र आगामी बर्खाअघि नदी नियन्त्रणको काम पूरा गर्ने योजना रहेको उनले बताए।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नवराज शर्माका अनुसार सडक मर्मतका लागि ग्याबियन जाली खरिद र मजदुरको ज्यालाको व्यवस्था गरिनेछ। थप बजेटको प्रक्रिया अघि बढाउने तथा गाउँपालिकाले नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने समझदारी भएको उनले बताए। जलविद्युत् आयोजनाका उपकरणसमेत परिचालन गरी काम छिटो अघि बढाउने तयारी गरिएको छ।

