आज हिमाली र पहाडी क्षेत्रमा वर्षासँगै चट्याङ र हावाहुरीको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको समेत प्रभाव रहेकाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा लुम्बिनीका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा पनि चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र तथा बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा बिहानीपख कुहिरो लाग्न सक्नेछ।

राति हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभाग तथा तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

Facebook Comments Box