निर्वाचन आउन नौ दिन बाँकी : आयोगद्वारा आचारसंहिता पुनःस्मरण गरायो
काठमाडौँ, १२ फागुन – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा आचारसंहिता लाग्ने व्यक्ति, समूह र संस्थाबारे पुनःस्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक हुनुका साथै उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ ।
आयोगका अनुसार नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, दुवै तहका सरकारी निकाय र तिनका पदाधिकारी, स्थानीय कार्यपालिका र तिनका सदस्य, सङ्घ, प्रदेश तथा स्थानीय तहका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी पूर्ण रूपमा आचारसंहिताको दायरामा पर्छन् ।
यसैगरी सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय र तिनका शिक्षक–कर्मचारी, राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिलाई पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक संस्था, निजी तथा गैरसरकारी संस्था र तिनका पदाधिकारी तथा कर्मचारीसमेत आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ । संवैधानिक निकाय, सुरक्षा निकाय, सुरक्षाकर्मी, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समिति तथा अनुगमनकर्तालाई पनि आचारसंहिता लागू हुने आयोगले स्पष्ट पारेको छ ।
त्यसैगरी मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी परियोजना र तिनका कर्मचारी तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र कर्मचारीसमेत आचारसंहिताको दायरामा पर्ने जनाइएको छ ।
स्थानीय कार्यपालिकाका केही पदाधिकारी निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले आइतबार सचेत गराएको थियो । सोमबार पुनः सरकारी तथा निजी क्षेत्रका सबै सम्बन्धित पक्षलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

