चितवन निकुञ्जमा सेनाको गोली लागेर गैँडाको मृत्यु

नारायणगढ, २७  चैत  – चितवन राष्ट्रिय निकुञ्ज मा नेपाली सेनाको गोली लागेर एक गैँडाको मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश मगर का अनुसार गस्तीका क्रममा आत्मरक्षाका लागि चलाइएको गोली लाग्दा गैँडाको मृत्यु भएको हो ।

निकुञ्जको कोर क्षेत्र अन्तर्गत नफ्री क्षेत्रमा गस्ती गरिरहेको टोलीसँग बच्चासहितको पोथी गैँडा जम्काभेट भएको थियो । उक्त गैँडाले अचानक आक्रमण गर्न थालेपछि सुरक्षात्मक उपाय अपनाउँदा पनि अवस्था नियन्त्रणमा नआएपछि सेनाले हवाई फायर गरेको जनाएको छ ।

विज्ञप्तिअनुसार प्रारम्भमा १० राउण्ड हवाई फायर गरिएको थियो । त्यसपछि थप चार राउण्ड हवाई फायर गर्दा पनि गैँडा नभागेपछि अन्ततः आत्मरक्षाका लागि दुई राउण्ड गोली प्रहार गरिएको थियो । एक गोली गैँडाको करङ हुँदै फोक्सोमा लागेकाले मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । निकुञ्जका प्राविधिक टोलीले पोस्टमार्टम गरी गैँडालाई व्यवस्थापन गरेको तथा खाग र खुर सुरक्षित राखिएको जनाएको छ ।

आक्रमणमा परी घाइते भएका नेपाली सेनाका सिपाही विशाल घर्तीलाई थप उपचारका लागि काठमाडौंस्थित सैनिक अस्पताल लगिएको छ । उनको काँध, ढाड, नाक र मुखमा गम्भीर चोट लागेको छ र हाल उपचार भइरहेको छ । यसअघि गत वर्ष पनि सौराहा नजिकै जङ्गली हात्तीको आक्रमणको अवस्थामा सेनाले गोली चलाउँदा एक हात्ती मरेको घटना भएको थियो ।

Facebook Comments Box