भक्तपुरमा नौ दिन आठ रात चल्ने बिस्काः जात्रा आजदेखि सुरु

भक्तपुर २७ चैत – बिस्काः जात्रा आजदेखि सुरु भएको छ । नौ दिन आठ रातसम्म मनाइने यो ऐतिहासिक तथा सांस्कृतिक जात्रा नेपाली नयाँ वर्ष वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु भई वैशाख ५ गते सम्पन्न हुन्छ । लिच्छविकालदेखि सुरु भएको मानिने यो जात्रा भक्तपुरको प्रमुख सांस्कृतिक पहिचानका रूपमा परिचित छ । जात्राको सुरुआत पाँचतले मन्दिर अगाडि तौमढीबाट भैरव र भद्रकालीको रथ तानेर गरिन्छ ।

जात्राको मुख्य आकर्षण ‘भैलखः’ तानातान हो, जहाँ माथिल्लो (थने) र तल्लो (क्वने) टोलका बासिन्दाले रथलाई आ–आफ्नो क्षेत्रमा तान्ने परम्परा रहेको छ । यो प्रतिस्पर्धात्मक तानातानले जात्रामा विशेष रौनक थप्ने गर्दछ । नौ दिनको अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन् । तेस्रो दिन गःहिटीमा भैरवनाथको पूजा तथा बलि चढाइन्छ भने चौथो दिन प्रसिद्ध ‘यसींद्योः’ (लिङ्गो) उभ्याइन्छ, जुन जात्राको अर्को महत्वपूर्ण आकर्षण हो ।

नयाँ वर्षको पूर्वसन्ध्यामा उभ्याइने यसींद्योः पुरानो वर्षको विदाइ र नयाँ वर्षको स्वागतको प्रतीक मानिन्छ । यसमा बाँधिएका आठ डोरी अष्टमात्रिकाको प्रतीक मानिन्छन् भने यसलाई शत्रुनाशक विश्वाससमेत गरिन्छ । वैशाख १ गते भव्य रूपमा मनाइने मुख्य दिनमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ । यस दिन यसींद्योः ढाल्ने र भैरव–भद्रकालीको रथ जुधाउने ‘संगम जात्रा’ (द्योः ल्वाकिगु) मनाइन्छ ।

जात्राको छैटौँदेखि आठौँ दिनसम्म विभिन्न देवदेवीका जात्रा, सिन्दूर जात्रा तथा सगुन जात्रा मनाइन्छन् भने अन्तिम दिन पुनः भैलखः तानातान गर्दै जात्रा समापन गरिन्छ । जात्रा अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको छ र स्थानीय बासिन्दा तथा भक्तजनहरू जात्रामा उल्लासपूर्वक सहभागी भइरहेका छन् ।

Facebook Comments Box