इन्धन महँगिएपछि सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं, २६ चैत – इरान–अमेरिकालगायत पश्चिम एसियाली द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा वृद्धि गरिएको छ । सरकारको निर्णयअनुसार बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर कायम गरिएको हो ।

यातायात व्यवस्था विभाग ले अन्तरप्रदेशमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको भाडा समायोजन गरेको जनाएको छ । यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशतले बढाइएको छ भने पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा १५.७५ प्रतिशत वृद्धि गरिएको छ ।

विभागका निर्देशक श्रीकान्त यादव का अनुसार भाडा समायोजन इन्धन मात्रै नभई अन्य सूचकका आधारमा गरिएको हो । वैज्ञानिक भाडा निर्धारण प्रणालीअनुसार ३५ प्रतिशत हिस्सा इन्धनको र बाँकी ६५ प्रतिशत हिस्सा सवारीका पार्टपुर्जा, लुब्रिकेन्ट, श्रम मूल्य तथा बजार महँगीलगायत १३ सूचकमा आधारित हुन्छ ।

नयाँ भाडादरअनुसार विभिन्न रुटमा भाडा बढेको छ । काठमाडौँ–सुर्खेत सुपर डिलक्सको भाडा तीन हजार ९६ रुपैयाँ, काठमाडौँ–महेन्द्रनगर तीन हजार ४०६ रुपैयाँ, काठमाडौँ–विराटनगर दुई हजार ६६७ रुपैयाँ र काठमाडौँ–भैरहवा सुपर डिलक्सको भाडा एक हजार ४३४ रुपैयाँ कायम गरिएको छ । त्यस्तै काठमाडौँ–नेपालगञ्जको भाडा दुई हजार ६२१ रुपैयाँ पुगेको छ ।

सार्वजनिक यातायातमा नर्मल, डिलक्स र सुपर डिलक्स गरी तीन श्रेणीको भाडादर कायम गरिएको छ । काठमाडौँ–वीरगञ्ज रुटमा नर्मल बसको भाडा ९६१ रुपैयाँ, डिलक्स १,१५३ रुपैयाँ र सुपर डिलक्स १,३८३ रुपैयाँ तोकिएको छ । काठमाडौँ–तम्घासका लागि नर्मल १,४८२ रुपैयाँ, डिलक्स १,७९० रुपैयाँ र सुपर डिलक्स २,१४८ रुपैयाँ निर्धारण गरिएको छ ।

यद्यपि, उपभोक्ता अधिकारकर्मीहरूले नर्मल बसले समेत डिलक्सको र डिलक्सले सुपर डिलक्सकै भाडा उठाउने गरेको गुनासो गरेका छन् । यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अस्वस्थ प्रतिस्पर्धा र बिचौलियाको प्रभावका कारण तोकिएको भाडा समेत पूर्ण रूपमा उठाउन नसकिएको बताएका छन् ।

सरकारले २०६५ सालमै इन्धनको मूल्य पाँच प्रतिशतभन्दा बढी घटबढ भएमा स्वचालित भाडा समायोजन प्रणाली लागू गर्ने व्यवस्था गरेको भए पनि हालसम्म पूर्ण रूपमा कार्यान्वयन हुन सकेको थिएन । पछिल्लो निर्णयसँगै सो प्रणाली कार्यान्वयनतर्फ अघि बढाइएको जनाइएको छ ।

Facebook Comments Box