अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो
काठमाडौँ, २६ चैत – एक महिनादेखि निरन्तर उकालो लागेको कच्चा तेलको मूल्यमा गिरावट आएको छ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिका र इरान बीच दुई साताका लागि युद्धविराम गर्ने सहमति बनेपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको हो ।
कच्चा तेलको मूल्य करिब १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ अमेरिकी डलरमा झरेको छ । यसअघि पश्चिम एसियाली क्षेत्रमा जारी तनावका कारण मूल्य बढेर प्रतिब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो । अमेरिका–इरानबीच वार्ताको आधार तयार हुने संकेतसँगै आपूर्तिमा आउने अवरोध हट्ने अपेक्षा बढेपछि बजारमा मूल्य घटेको विश्लेषण गरिएको छ ।
साथै, विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरूमध्य पुनः सञ्चालन हुने आशाले पनि मूल्यमा गिरावट आएको हो । विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने हर्मुज जलमार्ग सञ्चालनमा आउने संकेतले बजारमा आपूर्ति सहज हुने अनुमान गरिएको छ । यसअघि युद्ध र मार्ग अवरोधका कारण दैनिक १.२ देखि १.५ करोड ब्यारेलसम्म तेल आपूर्तिमा असर परेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपालमा पनि त्यसको प्रभाव करिब एक सातापछि देखिनेछ । इन्डियन आयल कर्पोरेसन ले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य पठाउने र सोही आधारमा नेपाल आयल निगम ले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्दछ । निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट का अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले नेपालमा पनि केही समयपछि उपभोक्ताले राहत पाउनेछन् ।

