‘काचाल्का’ प्रविधि : थोरै पानीले धेरै सिँचाइ, उत्पादन वृद्धि गर्ने उपाय

चितवन, २३ चैत – कृषिलाई व्यावसायिक र लाभदायी बनाउन कम लागतमा बढी उत्पादन गर्ने प्रविधिको आवश्यकता बढिरहेका बेला ‘काचाल्का’ सिँचाइ प्रणाली प्रभावकारी विकल्पका रूपमा अघि आएको छ। चितवनको भरतपुर–१६ विजयनगरमा ई भगवानदास मानन्धर ले विकास गर्नुभएको काचाल्का प्रविधिले बिरुवालाई आवश्यक मात्रामा मात्रै पानी उपलब्ध गराउँदै सिँचाइ दक्षता बढाउने काम गरेको छ।

यो प्रविधि ‘डिस्क्रेट इरिगेसन सिस्टम’ मा आधारित छ, जसमा पानीलाई सानो ट्याङ्की (काचाल्का) मा जम्मा गरी आवश्यकताअनुसार क्रमशः बोटबिरुवामा वितरण गरिन्छ। यसले पानी खेर जान नदिई थोपा–थोपा सिँचाइ जस्तै प्रभाव दिने गर्दछ। सामान्य सतह सिँचाइमा धेरै पानी खेर जाने र खेतमा जम्ने समस्या हुन्छ। तर काचाल्का प्रणालीमा पानीको मात्रा, दबाब र वितरण नियन्त्रण गरिने भएकाले पानीको उपयोगिता उच्च हुन्छ।

मानन्धरका अनुसार यस प्रविधिको सिँचाइ दक्षता करिब ९३ प्रतिशत र पानी वितरणको समानता ९५ प्रतिशतसम्म पुग्छ। उहाँले आफ्नै खेतमा सुन कागती तथा अन्य बालीमा यो प्रविधि प्रयोग गरी यसको प्रभावकारिता प्रमाणित गर्नुभएको छ। सुख्खा मौसममा तरकारी तथा बागवानीका लागि पनि यो प्रणाली उपयोगी देखिएको छ।

काचाल्का रूसी शब्द हो, जसको अर्थ सानो ट्याङ्की वा चेम्बर हो। यसले मुख्य स्रोतबाट आएको पानीलाई संकलन गरी आवश्यकताअनुसार अर्को भागमा पठाउने काम गर्छ। टिन, माटो, ढुङ्गा वा कंक्रिटबाट बनाइने यो संरचना सरल, सस्तो र स्थानीय रूपमा निर्माण गर्न सकिने खालको छ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत लामो समय प्राध्यापन गर्नुभएका मानन्धरले सन् १९९३ मा विद्यावारिधीका क्रममा यो प्रविधि विकास गर्नुभएको थियो। इटलीको मान्तोभामा यसको सफल परीक्षण समेत भइसकेको छ। तर लामो समयसम्म व्यवहारमा लागू नभएपछि उहाँ अहिले आफैँ खेतमा प्रयोग गर्दै किसानसम्म यो प्रविधि पु¥याउन सक्रिय हुनुहुन्छ।

उहाँका अनुसार कुलोमार्फत हुने परम्परागत सिँचाइभन्दा यो प्रणाली सस्तो, कम श्रम लाग्ने र प्रभावकारी छ। किसानले सजिलै निरीक्षण गर्न सक्ने र आवश्यक परे आफैँ मर्मत गर्न सक्ने भएकाले यो प्रविधि व्यवहारमै प्रयोग गर्न सहज छ। खेतको आकार, माटोको बनावट र बालीअनुसार पानी वितरण मिलाउन सकिने भएकाले उत्पादन र आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको छ। इच्छुक किसानहरूले यो प्रविधि अपनाउन चाहेमा मानन्धर स्वयंले सहयोग गर्ने र स्थानीय कृषि कार्यालयमार्फत पनि आवश्यक जानकारी लिन सकिने जनाइएको छ।

Facebook Comments Box