आज हनुमान जन्मजयन्ती देशभर विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदै
काठमाडौँ, १९ चैतः चैत्र शुक्ल पूर्णिमाका अवसरमा हनुमान जन्मजयन्ती आज देशभर विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदै छ। रामभक्त हनुमान को जन्मदिनका रूपमा मनाइने यस पर्वमा श्रद्धालुहरूले पूजाआराधना, व्रत तथा धार्मिक अनुष्ठान गर्दैछन्।
यस अवसरमा काठमाडौँको हनुमानढोका दरबार परिसरमा रहेको हनुमानको मूर्ति, पशुपतिनाथ मन्दिर परिसरस्थित हनुमान मन्दिर तथा गोकर्णेश्वर नगरपालिका मा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका मन्दिरहरूमा विशेष पूजाआराधना भइरहेको छ। हनुमानढोकाको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने परम्पराअनुसार पुजारीले मात्रै पूजा गर्ने चलन छ।
धार्मिक विश्वासअनुसार यस दिन हनुमानको पूजा गरे बल, बुद्धि र विद्या प्राप्त हुने तथा दुःख–सङ्कटबाट मुक्ति पाइने मान्यता छ। श्रद्धालुहरूले पवित्र नदी तथा तीर्थस्थलमा स्नान गरी व्रत बस्ने र ‘हनुमान चालिसा’ पाठ गर्ने परम्परा पनि रहेको छ।
शास्त्रीय व्याख्यानुसार ‘हनु’ धातुबाट बनेको ‘हनुमान’ शब्दको अर्थ शक्तिशाली र वेगवान् हुन्छ। उनलाई वायुका पुत्र तथा भगवान् रामका परम भक्तका रूपमा चिनिन्छ। रामायण मा वर्णित घटनाहरूले हनुमानको वीरता, भक्ति र पराक्रमलाई उजागर गरेको छ।
धार्मिक ग्रन्थहरूमा हनुमानलाई सङ्कटमोचक, बजरङ्गबली तथा पञ्चतत्व र पञ्चरुद्र स्वरूप मानिन्छ। अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व जस्ता आठ प्रकारका यौगिक शक्ति हनुमानमा रहेको उल्लेख पाइन्छ।
यस अवसरमा देशका विभिन्न स्थानमा शोभायात्रा निकाल्नुका साथै हनुमानका मूर्ति तथा मन्दिरहरूमा सिन्दूर चढाउने परम्परा छ। श्रद्धालुहरूले मङ्गलबार र शनिबार विशेष रूपमा हनुमानको पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन्।

