गोली र नगदसहित नाइके पक्राउपछि सिरहा कारागारको अवस्था अझै अशान्त

सिरहा, २७ माघ – गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि सिरहा कारागारमा उत्पन्न विवाद करिब २० घन्टाभन्दा बढी समय बितिसक्दा पनि मत्थर हुन सकेको छैन। कारागारको अवस्था अझै तनावपूर्ण रहेको प्रशासनले जनाएको छ।

सोमबार बिहान करिब ११ बजे गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनका क्रममा सिरहा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र एक लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो। त्यसपछि यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ।

नाइके पक्राउको विरोधमा कैदीहरूले सोमबार दिनभर र रातभर कारागारको छतमाथि बसेर नाराबाजी गरेका थिए। स्थिति नियन्त्रणमा लिन सोमबार राति करिब ९ बजे प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो। त्यसक्रममा कैदीहरूले पनि मोटर चलाएर प्रहरीतर्फ पानी फ्याँकेर प्रतिकार गर्दा कारागारभित्र केही समय तनाव सिर्जना भएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता रमेश बहादुर पालका अनुसार नाइके यादवलाई कारागार फिर्ता ल्याउन माग गर्दै कैदीहरूले मंगलबार बिहानसम्म पनि होहल्ला र नाराबाजी जारी राखेका छन्।
“नाइके पक्षका कैदीहरू कारागारको छतमाथि बसेर होहल्ला गरिरहेका छन्,” डिएसपी पालले भने, “स्थितिबारे छलफल गर्न आज बिहान जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ।”

सुरक्षालाई मध्यनजर गर्दै कारागारभित्र र बाहिर करिब १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट हतियार, गोली, नगदका साथै चुरोट, सुर्ती जस्ता प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारभित्र मदिरा तथा लागुऔषध कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबर्जस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा अपरेसन गरिएको हो। नियन्त्रणमा लिइएका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेको जनाइएको छ।

उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारबाट बाहिर निकालेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको र कारागार सुरक्षामा कडाइ गरिएको प्रशासनले जनाएको छ। १५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी रहेका छन्।

Facebook Comments Box