मेघालयको कोइलाखानी विष्फोटमा ज्यान गुमाउने नेपालीको संख्या चार पुग्यो
काठमाडौँ, २७ माघ – भारतको मेघालय राज्यमा रहेको अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाउने नेपाली नागरिकको संख्या चार पुगेको छ। विष्फोटपछि बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो। यससँगै उक्त घटनामा मृत्यु हुने नेपालीको संख्या चार पुगेको छ।
गत माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्स क्षेत्रमा रहेको अवैध कोइलाखानीमा डाइनामाइट विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको पुष्टि भइसकेको थियो।
विष्फोटपछि बेपत्ता भएका रत्न राईको शव अस्पतालमा फेला परेको पारिवारिक स्रोतले जनाएको छ। जलेको अवस्थामा फेला परेको शव जीउडालको आधारमा पहिचान गरिएको जनाइएको छ। स्थानीय युवा नेत्रविक्रम राउतका अनुसार रत्न राईको मृत्यु भएको खबर आएपछि घरमा काजकिरिया सुरु गरिएको छ।
उनका छोराहरूले माघ २५ गतेदेखि नै संस्कार किरियामा बसेको राउतले जानकारी दिनुभयो। रत्न राई रोजगारीका लागि गत असोज ९ गते मेघालय गएका थिए। सँगै बसेर काम गर्दै आएका आफन्तका अनुसार राईको नागरिकता, डायरी र मोबाइल कोठामै फेला परेको छ।
उक्त विष्फोटमा पूर्णबहादुर र सुरेन्द्र खपाङ्गीको घटनास्थलमै तथा नरबहादुर खपाङ्गीको उपचारका क्रममा माघ २३ गते मृत्यु भएको थियो। पूर्णबहादुर र सुरेन्द्र एकै घरका दाजुभाइ हुन्। तीनै जनाको शव सिलाङको झालुपारामा लगेर माघ २६ गते दाहसंस्कार गरिएको मेघालय पुगेका प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभयो।
मृतकका परिवारले शव नेपाल ल्याउन नेपाल सरकारबाट कुनै किसिमको सहयोग नपाएको गुनासो गरेका छन्। विष्फोटमा परेर बराहपोखरी सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते भएका छन्। उनीहरू रोजगारीको खोजीमा गत पुस ३ गते मेघालय गएका थिए। घटनामा अझै दर्जनौँ कामदार कोइलाखानीमै फसेको अनुमान गरिएको छ।

