पशुलाई रोगबाट जोगाउन म्याग्दीमा पूर्णखोप अभियान सञ्चालन

म्याग्दी, २७ माघ – पशुलाई महामारीजन्य रोगबाट जोगाउन म्याग्दी जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको संरक्षण र उत्पादन वृद्धि गर्ने उद्देश्यसहित जिल्लाका छवटै स्थानीय तहका किसानले पालेका पशुमा खोप लगाउने अभियान सुरु गरेको हो।

चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने पशुमा पूर्णखोप कार्यक्रममार्फत करिब ९० हजार गाई, भैँसी, बाख्रा, भेडा तथा कुकुरलाई पाँच प्रकारका महामारीजन्य रोगविरुद्ध खोप लगाउने लक्ष्य रहेको केन्द्रका प्रमुख गोपाल गिरीले जानकारी दिनुभयो।

उहाँका अनुसार करिब ११ हजार घरपरिवारका किसानले पालेका १४ हजार १५९ गाई, २३ हजार ३२६ भैँसी, ४७ हजार १८६ बाख्रा, १४ हजार ७९१ भेडा, एक हजार ६६८ बङ्गुर, चार हजार ८७७ कुकुर–बिरालो र ३७९ चौरीलाई खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ।

गाईभैँसीलाई खोरेत र लम्की स्किन, भेडा–बाख्रालाई पिपिआर, कुकुर र बिरालोलाई रेबिज तथा बङ्गुर÷सुगुरलाई स्वाइन फिभरविरुद्धको खोप लगाइने केन्द्रका प्रमुख गिरीले बताउनुभयो। बेनी नगरपालिका, धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा खोप अभियान सम्पन्न भइसकेको छ भने रघुगङ्गा र मङ्गला गाउँपालिकामा अभियान सुरु गरिएको छ।

किसानका पशु फार्म र गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क सङ्कलन, खोपकर्ता नियुक्ति, पालिकास्तरमा जनप्रतिनिधि तथा अगुवा किसानलाई अभिमुखीकरण गरी प्राविधिक परिचालन गरिएको केन्द्रले जनाएको छ। पूर्णखोप अभियानका लागि वडाको भूगोल र पशु सङ्ख्याका आधारमा दुईदेखि तीन जनासम्म प्राविधिक तथा खोपकर्ता परिचालन गरिएको थियो।

पशुलाई महामारीजन्य रोगबाट जोगाउन खोप प्रभावकारी उपाय भएको किसानहरूको भनाइ छ। बेनी नगरपालिका–३ डाडाखानीका किसान धनबहादुर श्रीसले पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोग नियन्त्रण, जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरण तथा रोग उपचारमा लाग्ने समय र खर्च बचत गर्न पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो।

गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल गर्ने योजनाअनुसार प्रदेशलाई पूर्णखोपयुक्त बनाउने लक्ष्यसहित ११ जिल्लामा पशुमा पूर्णखोप अभियान सञ्चालन गरिरहेको जनाएको छ।

Facebook Comments Box