तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

नवलपरासी, २७ माघ – नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि तीन हजार ५९५ बालिकालाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईंका अनुसार आगामी फागुन १ गतेदेखि १३ गतेसम्म अभियानका रूपमा सञ्चालन हुने उक्त कार्यक्रममा जिल्लाभरका तीन हजार ५९५ जना छात्रा लाभान्वित हुनेछन्। अभियान सामुदायिक तथा संस्थागत गरी १७४ विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रालाई लक्षित गरिएको उहाँले जानकारी दिनुभयो।

“जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो, “सबैभन्दा बढी कावासोती नगरपालिकामा ८१० जना छात्रालाई खोप लगाइनेछ भने गैँडाकोट नगरपालिकामा ७३०, देवचुली नगरपालिकामा ६३५, मध्यविन्दु नगरपालिकामा ५५२, विनयी त्रिवेणी गाउँपालिकामा ३८४, हुप्सेकोट गाउँपालिकामा २७१, बुलिङटार गाउँपालिकामा १११ र बौदीकाली गाउँपालिकामा १०२ जना छात्रा लक्षित छन्।”

खोप अभियानका लागि जिल्लाभर २४९ खोप केन्द्र तोकिएका छन्। अभियानमा ३३९ जना स्वास्थ्यकर्मी र सोही सङ्ख्यामा स्वयंसेवक परिचालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। खोपका लागि आवश्यक सिरिञ्ज, सेफ्टी बक्स, भ्याक्सिन क्यारियरलगायत सामग्रीको व्यवस्थापनसमेत पूरा भइसकेको छ।

“एचपिभी भाइरस सङ्क्रमणकै कारण महिलामा पाठेघरको मुखको क्यान्सर हुने भएकाले बाल्यावस्थामै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम उल्लेख्य रूपमा घट्ने विश्वास गरिएको छ,” प्रमुख चापागाईंले भन्नुभयो, “खोप पूर्ण रूपमा निःशुल्क, सुरक्षित र प्रभावकारी छ।”

प्रदेश जनस्वास्थ्य कार्यालयले लक्षित सबै छात्रालाई खोप अभियानमा सहभागी गराउन विद्यालय, अभिभावक र स्थानीय तहसँग सहकार्य गर्न आग्रह गरेको छ। स्वास्थ्य कार्यालयका अनुसार नेपालमा हरेक वर्ष अनुमानित दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने एक हजार ३१३ जनाको यसै कारण मृत्यु हुने गरेको छ।

विज्ञहरूका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो प्रमुख कारण हो। यस अभियानलाई पाठेघरको मुखको क्यान्सर न्यूनीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ, जसले दीर्घकालीन रूपमा महिलाको स्वास्थ्य सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Facebook Comments Box