निर्वाचन २४ दिन बाँकीः मतदाता शिक्षा कार्यक्रममा आयोगको जोड

काठमाडौँ, २६ माघ – निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनसम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यसहित मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ। मतदातालाई मताधिकारप्रति सचेत गराउने र सही मतसङ्केत प्रयोगका लागि प्रशिक्षित गर्ने लक्ष्यका साथ आयोगले डिजिटल प्लेटफर्ममार्फत निरन्तर सचेतनामूलक सामग्री सम्प्रेषण गरिरहेको जनाएको छ।

सही तथा तथ्यपरक सूचना प्रदान गर्दै मत बदर हुने अवस्था न्यूनीकरण गर्न मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको आयोगको भनाइ छ। डिजिटल माध्यममा भइरहेको सचेतनालाई वडास्तरसम्म विस्तार गर्ने लक्ष्यसहित आयोगले यही माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। स्वीकृत कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहका प्रत्येक वडामा एक–एक स्वयंसेवक परिचालन गरिनेछ।

स्वयंसेवक छनोटका लागि स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट सम्बन्धित निर्वाचन कार्यालयमार्फत छनोट प्रक्रिया अघि बढाइने व्यवस्था गरिएको छ।

मतदाता शिक्षा सामग्री उत्पादन तथा प्रभावकारी प्रचार–प्रसारका लागि सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यम र विभिन्न नियामक निकायसँग आयोगले सम्झौता गरिसकेको छ। आयोगले राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड तथा प्रेस काउन्सिल नेपालसँग यसअघि नै सहमति गरेको जनाएको छ।

प्रभावकारी मतदाता शिक्षाले मतदान प्रक्रिया, मतसङ्केतको सही प्रयोग तथा मिथ्या सूचना पहिचान गर्ने क्षमतामा अभिवृद्धि हुने र यसले स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास व्यक्त गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गतेका लागि तय गरिएको छ। निर्वाचनमार्फत प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने व्यवस्था छ।

Facebook Comments Box